नेपालले यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ।
यो नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टिमलाई हराएको मात्र नभई, दुई पटकको विश्वकप विजेता बलियो टोली वेस्ट इन्डिजलाई पराजित गरेको ऐतिहासिक क्षण बनेको छ।
अन्तिम ओभरमै रोमाञ्चक नतिजा
अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि २८ रन आवश्यक थियो।
बलिङमा आएका दिपेन्द्र सिंह ऐरीले पहिलो बल डट राखे, दोस्रो र तेस्रोमा चौका प्रहार भए। तर त्यसपछि लगातार दुई बल डट हुँदा दबाब बढ्यो।
अन्तिम बलमा वेस्ट इन्डिजले ठूलो शट खोज्दा, कुशल भुर्तेलले सीमामा उत्कृष्ट क्याच लिँदै नेपालको जित सुनिश्चित गरे।
वेस्ट इन्डिजको इनिङ्स
वेस्ट इन्डिजका लागि डेब्युटेन्ट नवीन विदेशीले सर्वाधिक २२ रन बनाए, जसमा १ चौका र १ छक्का सामेल थियो। तर उनी हिट विकेटको दुर्भाग्यपूर्ण रुपमा आउट भए।
ओपनर अमिर जाङ्गोले १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए।
कप्तान अकिल होसेनले छोटो तर आक्रामक १८ रन (१ चौका, २ छक्का) बनाएर क्याच आउट भए।
वेस्ट इन्डिजले पावरप्लेमा ४० रन बनाउँदै २ विकेट गुमायो। १० ओभरमा ५६/४ र १७ ओभरमा १००/७ पुग्दा जितबाट टाढिँदै गएको थियो।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट, नन्दन यादव, रोहित पौडेल, करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १-१ विकेट लिए।
बलिङ गर्दै गर्दा नन्दन यादव घाइते भए पनि उनले अकिम अगष्टेलाई आउट गरेर योगदान दिएका थिए।
नेपालको इनिङ्स
पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ३८ रनको उत्कृष्ट खेलमा भर पर्यो। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
कुशल मल्ल (३०) र रोहितबीच ५८ रनको साझेदारी नेपालका लागि निर्णायक रह्यो।
गुल्सन झाले २२, दिपेन्द्र सिंह ऐरीले १७ रन योगदान दिए।
अन्त्यतिर सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट, नवीन विदेशीले ३ विकेट र कप्तान अकेल होसेनले १ विकेट लिए।
आजको खेलमा लेग स्पिनर सन्दीप लामिछाने बेञ्चमै बसे।
ऐतिहासिक क्षण
यस जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो नयाँ अध्याय सुरु गरेको छ।
पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गर्नु नेपाल क्रिकेटको इतिहासमै ठूलो उपलब्धि बनेको छ।