इजरायली गुप्तचर निकायले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो फेला पारेको इजरायली पत्रिका जेरुसेलम पोस्टले जनाएको छ। उक्त भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने बन्धक परिवार फोरमले जनाएको हो।
जोशीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजामा फेला परेको यो भिडियो जीवनको प्रमाण हो, जसले हामीलाई उहाँ अझै जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ।”
बिपिन जोशी इजरायलको किबुत्ज आलुमिममा कृषि शिक्षा कार्यक्रममा सहभागी हुन पुगेका थिए। गत वर्ष हमासले सो क्षेत्रबाट उनीसहितका नागरिकलाई अपहरण गरेको थियो।
वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, हमासको आक्रमणका क्रममा जोशीले आफ्ना साथीसहितको ज्यान बचाउन असाधारण साहस देखाएका थिए। दुई वटा ग्रेनेड कोठाभित्र छिरेपछि उनले एकलाई समातेर बाहिर फ्यालेका थिए, तर दोस्रो ग्रेनेड विस्फोट हुँदा उनका पाँच साथी गम्भीर घाइते भएका थिए।
जेरुसेलम पोस्टका अनुसार, जोशीलाई अपहरणपछि गाजाको शिफा अस्पतालमा लगिएको थियो। त्यसपछि उनको अवस्थाबारे स्पष्ट प्रमाण नआए पनि हाल प्राप्त भिडियोले उनी जीवित रहेको संकेत गरेको बताइएको छ।

