२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा (एमाले) निकट अखिल (अनेरास्ववियु) ले किटानी जाहेरी दिएको छ।
अनेरास्ववियुको टोली आज जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर तोडफोड, आगजनी र प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा जाहेरी दर्ता गराएको हो।
अखिलका महासचिव दीपक धामीका अनुसार, “२४ भदौमा जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र प्रहरी कार्यालयमा भएको तोडफोड तथा आगजनीमा बालेन शाह र सुदन गुरुङको भूमिका रहेको भन्दै हामीले कानुनी कारबाहीको माग गरेका हौं,” उनले बताए।
जाहेरी दर्ताका क्रममा परिसर पुगेका तीन जना विद्यार्थी नेताहरूलाई छलफलका लागि प्रहरी परिसरले भित्र बोलाएको स्रोतले जनाएको छ।
२४ भदौको जेनजी आन्दोलनका क्रममा राजधानीका विभिन्न सरकारी निकायमा भएको क्षतिलाई लिएर अनेरास्ववियुले सो घटना “राजनीतिक आन्दोलन होइन, आपराधिक गतिविधि” भएको आरोप लगाउँदै जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

