Breaking News...
15 Apr 2026, Wed

“वर्षा, पहिरो र सरकारको परीक्षा : यसपटक तयारीले फर्कायो नतिजा”

१९ असोज, काठमाडौं ।
भारी वर्षाको चेतावनीसँगै सरकारले यसपटक जोखिम व्यवस्थापनमा देखाएको सक्रियता प्रशंसनीय मानिएको छ। गत वर्षको तुलनामा यसपालि ‘भिजिबिलिटी’ अर्थात् सरकारी उपस्थिति र समन्वय स्पष्ट रूपमा बढेको देखिन्छ।

गत वर्ष १२ असोजको बाढीपहिरोमा देखिएको लापरवाही दोहोरिन नदिने उद्देश्यका साथ सरकारले यो पटक प्रारम्भदेखि नै गृह प्रशासन, स्थानीय निकाय र सुरक्षातन्त्रलाई सक्रिय बनायो। मौसमविद्हरूको चेतावनीपछि जोखिमयुक्त राजमार्गहरूमा रातिदेखि नै सवारी आवागमन रोक्ने निर्णयले सम्भावित जनधनको ठूलो क्षति टारेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले विपद्‌बाट जोगिन अपिल गर्दै भिडियो सन्देश जारी गर्नुभयो। गृह मन्त्रालयले देशभरका प्रशासनलाई तयारी अवस्थामा राख्यो, हेलिकप्टरहरू उद्धारका लागि तयार राखिए। स्थानीय प्रशासनले डुबानका क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्दै जोखिम घटायो।

यसपटक इलाममा पहिरोमा ३७ जनाको मृत्यु र रसुवामा चार जना बेपत्ता भए पनि काठमाडौं उपत्यकामा ठूलो क्षति हुन पाएन। विशेषज्ञहरूको भनाइमा यो वर्षको मौसमी प्रणाली पूर्वतिर सरेको र सरकारको तदारुकताले क्षति घटाएको हो।

गत वर्ष बाढीका बेला प्रधानमन्त्री र गृह मन्त्रालयमाथि आएको आलोचना यो पटक घटेको छ। प्रशासन र सुरक्षातन्त्रले समयमै सूचना सम्प्रेषण, माइकिङ, र आवागमन नियन्त्रण गरेर सजगता देखाए।

विपद् जोखिम न्यूनिकरणका विज्ञ प्रदीप खतिवडाले लेखेका छन्, “प्रभावकारी समन्वय र तत्कालीन प्रतिक्रिया भए जोखिम घटाउन सकिने रहेछ।”
सरकारको यो तयारीले देखाएको छ — नेतृत्व सक्रिय रहँदा मातहतका संयन्त्रहरू पनि स्वचालित रूपमा संवेदनशील र उत्तरदायी बन्न सक्छन् . स्रोत : (Onlinekhabar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *