Breaking News...
15 Apr 2026, Wed

“इतिहासको मोडमा जापान : पहिलो महिला प्रधानमन्त्री बन्ने ताकाइचीको तयारी”

टोकियो।
जापानले पहिलोपटक महिला प्रधानमन्त्री पाउन लागेको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी)को नेतृत्व जितेपछि सानाए ताकाइची सम्भवतः यही महिनाभित्र प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ।

६४ वर्षीया ताकाइचीले आफूलाई ‘जापानी मार्गरेट थ्याचर’ भन्न रुचाउँछिन्। रूढीवादी विचारधाराकी नेतृ भए पनि उनले ‘नर्डिक देशहरूजस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गरेकी छन्। अहिलेका प्रधानमन्त्री सिगेरू इसिबाको मन्त्रिपरिषद्मा जम्मा दुई जना मात्रै महिला मन्त्री थिए।

ताकाइचीले महिलाको स्वास्थ्य र रजोनिवृत्तिका विषयमा खुलेर कुरा गर्ने साहस देखाएकी छन्। तर, उनको लैङ्गिक नीतिलाई धेरैले रूढीवादी ठान्छन्। उनी विवाहपश्चात महिलालाई पतिका थर लिनुपर्ने कानूनी प्रणालीको पक्षमा छिन्, समलिङ्गी विवाह र शाही उत्तराधिकारमा महिलाको प्रवेशको विरोधमा पनि उभिएकी छन्।

राजनीतिक विज्ञ युकी सुजीका अनुसार, ताकाइचीको नेतृत्वले महिला अधिकारमा ठूलो परिवर्तन ल्याउने सम्भावना कम छ। “उनको प्रधानमन्त्री बन्नु प्रतीकात्मक दृष्टिले महत्वपूर्ण छ,” उनले भनिन्, “तर असफल भएमा महिला नेतृत्वबारे नकारात्मक धारणा अझ बलियो हुन सक्छ।”

सामान्य नागरिकहरू भने यो घटनालाई ऐतिहासिक अवसरका रूपमा हेर्छन्। टोकियोकी ५० वर्षीया कर्मचारी युकाले भनिन्, “अब हामी गर्वका साथ भन्न सक्छौं— जापानमा पहिलो महिला प्रधानमन्त्री हुन लागेकी छिन्।”

तर, जापानमा लैङ्गिक समानता अझै चुनौतीपूर्ण छ। व्यवस्थापकीय तहमा महिलाको सहभागिता १३ प्रतिशत मात्र छ, र संसदमा महिलाको प्रतिनिधित्व करिब १५ प्रतिशत। धेरै महिला दीर्घ कार्यसमय र पारिवारिक जिम्मेवारीका कारण करियरमा अघि बढ्न सक्दैनन्।

यद्यपि, धेरैको विश्वास छ— ताकाइचीको नेतृत्वले जापानको राजनीतिमा महिला सहभागिताको ढोका कम्तीमा खुला गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *